Comments Add Comment

रमेशजंग रायमाझीले प्रयोग गरेको ‘झड्केलो छोरो’ शब्द रेकर्डबाट हटाउन निर्देशन

काठमाडौं, २६ वैशाख । सांसद रमेशजंग रायमाझीले धारणा राख्ने क्रममा बोलेको ‘झड्केलो छोरो’ शब्द रेकर्डबाट हटाउन राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् सचिवालयलाई निर्देशन दिएका छन् ।

गत आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव टोपबहादुर रायमाझीबारे अभिव्यक्ति दिँदा रमेशजंग रायमाझीले ‘झड्केलो छोरो’ शब्द प्रयोग गरेका थिए । यसको भोलिपल्ट सोमबार बसको राष्ट्रिय सभा बैठकमा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले रायमाझीले बोलेको ‘झड्केलो छोरो’ शब्द रेकर्डबाट हटाउन माग गरेका थिए । 

यसपछि अध्यक्ष तिमिल्सिनाले आफूले सुनेर आवश्यक निर्णय लिने जानकारी गराएका थिए । सोहीअनुसार मंगलबार बसेको बैठकमा अध्यक्ष तिमिल्सिनाले सांसद रमेशजंग रायमाझीले बोल्दा प्रयोग गरेको ‘उहाँको झड्केलो छोरो हो, टोपबहादुर रायमाझी’ भन्ने शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् ।

‘वैशाख २४ गतेको बैठकमा दलका नेताहरूले आफ्ना भनाइ राख्ने क्रममा माननीय रमेशजंग रायमाझीबाट प्रयोग भएको शब्द रेकर्डबाट हटाइयोस् भनी माग गर्नुभएकोले उहाँले बोल्दा प्रयोग गर्नुभएको उहाँको ‘झड्केलो छोरो हो, टोपबहादुर रायमाझी’ भन्ने शब्द राष्ट्रियसभा नियमावली, २०७५ को नियम २१ को घको व्यवस्थासँग मेल नखाने भएकाले २०८० वैशाख २४ गतेको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिन्छु,’ अध्यक्ष तिमिल्सिनाले निर्देशन दिए। 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ