Comments Add Comment

मुहान सुकेपछि ट्याङ्करबाट खानेपानी

पाँचथर, २४ वैशाख
सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं. ७ का ३०० बढी घरमा ट्याङ्करको सहायताले खानेपानीको प्रवन्ध गर्न थालिएको छ । 
हिलिहाङ–७ का चुक्फारा, माझीगाउँ, डाँडागाउँ र सिमखर्क वस्तीका ३०० बढी परिवारले उपयोग गर्दै आएको साँचे खोला खानेपानीको मुहान सुकेपछि यहाँ ट्याङ्करबाट खानेपानीको ब्यवस्था गरिएको हो । फालेलुङ गाउँपालिका–१ साँचे खोलामा रहेको मुहानमा पानी सुकेपछि वैशाक १५ गतेदेखि ट्याङ्करबाट खानेपानी वितरण गर्न थालिएको हो । 
ट्याङ्करमा सोही वडाको हेंवा खोला छेउमा रहेको मुहानमा पानी जम्मा गरी सल्लेरीमा रहेको पाइपलाइनबाट साँचे खोला खानेपानी योजनाको ट्याङ्कीमा जम्मा गर्ने गरिएको छ । यहाँ रहेका २० हजार र ६० हजार लिटर क्षमताका दुई वटा ट्याङ्कीमा जम्मा गरी खानेपानी वितरण गर्ने गरिएको साँचे खोला खानेपानी योजनाका अध्यक्ष तिलविक्रम इधिङ्गोले जानकारी दिनुभयो । 
विगतमा मुहानमा प्रशस्तै पानी हुने भएपछि अहिले ४० मिलिमिटरको पाइप समेत नभरिने गरेको र सो पानी वितरण स्थलसम्म आइपुग्नै छाडेको हो । तीन साताअघिबाट यहाँ प¥याप्त खानेपानी आउन छाडेको थियो । “मुहानमा गएर हेर्दा खानेपानी सुकेको पाएपछि उपभोक्ताहरु मिलेर वडा कार्यालय, हिलिहाङ गाउँपालिका लगायत निकायमा जानकारी दियौं”, खानेपानी वितरणको अगुवाइ गरिरहनु भएका इधिङ्गोले भन्नुभयो, “खानेपानीको हाहाकार हुन थालेपछि स्थानीयवासीकै सक्रियतामा खानेपानी ल्याउन थालेका हौं ।” यहाँ वैशाक १५ गतेदेखि ट्याङ्करको सहायताले निरन्तर खानेपानी वितरण भइरहेको इधिङ्गोले वताउनुभयो । 
वर्षा नभएसम्म खानेपानीका समस्या रहिरहने स्थानीयवासी वताउँछन् । पूर्वी पहाडमा लामो समयदेखि वर्षा हुन सकेको छैन् । वर्षा भएको खण्डमा साँचे खोलामा चाँडै पानी रसाउने र खानेपानीको समस्या समाधान हुनेमा स्थानीयवासी विश्वस्त देखिन्छन् । यद्यपि, वर्षा नहोउञ्जेल सरकारी निकायसँग खानेपानीको जोहो गर्न पहल गर्ने र उपभोक्ता स्वयंबाट समेत रकम सङ्कलन गरी खानेपानीको ब्यवस्थाका लागि लागिपर्ने इधिङ्गोको भनाई छ । 
३०० बढी उपभोक्तामध्ये करीव ४५ घरले यहाँ रहेको तीनधारे मुहानबाट बोकेर खानेपानी लैजाने गरेका छन् । उपभोक्ताले उक्त धाराबाट दुई घण्टा लगाएर समेत खानेपानी लैजाने गरेका छन् । बाँकी घर परिवारले सबै प्रयोजनका लागि साँचे खोला योजनाकै भर पर्नुपर्ने अवस्था रहेको स्थानीयवासी भीमबहादुर थापाले वताउनुभयो । “कतिपयले गाडीमा समेत खानेपानी लैजाने गर्नुभएको छ”, थापाले भन्नुभयो । 
यहाँकी कौशिला बराइली एक घण्टा लगाएर खानेपानी घर पु¥याउनु पर्ने बाध्यता रहेको वताउनुहुन्छ । “धारामा पानी आउन छोडेपछि पानी बोक्दैमा अरु काम केही भ्याइन्न”, बराइलीले भन्नुभयो, “गाइवस्तुलाई धारामै ल्याएर पानी खुवाउनु पर्छ । यसपालि पानीको साह्रै समस्या भयो ।”
स्थानीयवासीले ट्याङ्करबाट खानेपानीको प्रवन्ध गर्न थालेपछि फिदिम नगरपालिका, फिदिम खानेपानी तथा सरसफाई उपभोक्ता समिति, हिलिहाङ–७ वडा कार्यालय, एपेक्स निर्माण कम्पनी, इन्द्र योक्पाङ्देन लगायत स्थानीयवासी समेत सहयोग गर्दै आएको निवर्तमान वडाध्यक्ष समेत रहनुभएका उपभोक्ता समितिका अध्यक्ष इधिङ्गोले जानकारी दिनुभयो । ट्याङ्करबाट बोकेर वितरण गरिएको खानेपानी समेत उपभोक्ताका लागि प¥याप्त हुन भने सकेको छैन् । 
उक्त योजनाका चौकीदार कुवीर थापाका अनुसार विगतमा ७५ मिलिमिटरको पाइपको भरी पानी आउने गर्दथ्यो । तर अहिले १६ मिलिमिटरको पाइपको भरी समेत पानी आउन छाडेको छ । “ट्याङ्करबाट ओसार्दा पनि पानी प¥याप्त वितरण गर्न सकिएको छैन्”, थापाले भन्नुभयो, “मान्छेलाई पिउन त बोकेर सम्भव होला, तर गाइवस्तुलाई पानी खुवाउन साह्रै समस्या छ ।”
सो स्थानसहित खानेपानीको समस्या भोगिरहेका हिलिहाङ गाउँपालिकाका सात वटै वडाका लागि वृहत सुभाङ खानेपानी आयोजना निर्माण भइरहेको छ । हिलिहाङ–७ को साविक भारपा गाविसका लागि उक्त वृहत आयोजनाअन्तर्गत नै साँचे खोला ‘बी’ योजना निर्माण भइरहेको छ । तर प्राविधिक जटिलता र रकम भुक्तानीको समस्याका कारण निर्माण भइसकेको उक्त उपयोजना सञ्चालनमा आउन नसक्दा स्थानीयवासीले समस्या भोग्नु परेको हो । 
हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीका अनुसार वृहत आयोजनाका निर्माण कम्पनी रकम नपाएका कारण काम रोकेर बसेको छ । यस्तै साँचे खोला ‘बी’ उपयोजनाको मुहानभन्दा पाइपलाइनको केही भाग माथि बनेका कारण उक्त उपयोजना तत्कालै सञ्चालन हुन नसक्ने अवस्थामा रहेको अध्यक्ष अधिकारीले वताउनुभयो । 
“वृहत आयोजनालाई पूर्णता दिन जोड दिने तथा तत्काललाई खानेपानीको वैकल्पिक ब्यवस्थाका लागि गाउँपालिकाले धानेर जाने र सहयोगी निकायसमेत खोज्ने हाम्रो सोच छ”, अधिकारीले भन्नुभयो, “प्रकृतिले पनि हामीलाई साथ देला, सधैं यस्तै अवस्था नरहला भन्ने लागेको छ ।”
साविक भारपा गाविस वडा नं. ६, ७, ८ र ९ का लागि २०५३ सालबाट साँचे खोला खानेपानी योजना निर्माण थालिएको थियो । उक्त योजना सशस्त्र द्वन्द्वका कारण प्रभावित भई २०६९ सालबाट खानेपानी वितरण सुरु भएको थियो । योजनाअन्तर्गत २५ किलोमिटर लामो ट्रान्समिसन लाइन र सामूहिक ११७ धारा जडान भएका थिए । 
विगतमा प्रशस्तै पानी रहेको साँचे खोलामा पानी सुक्नु अचम्मको विषय भएको हिलिहाङ–७ का वडाध्यक्ष धनकुमार लिम्बू (पन्थाक)को भनाई छ । “पहिले माछा पाइने खोलामा अहिले खानेपानी समेत नहुँदा उपभोक्ता समस्या परेका हुन्”, वडाध्यक्ष लिम्बूले भन्नुभयो, “यहाँको समस्या गाउँपालिकामा उठाएको छु । खानेपानी त जसरी पनि दिनै प¥यो ।”
पुरानो साँचे खोला योजनाभन्दा करीव २५० मिटर तल मुहान थापेर वृहत आयोजनाअन्तर्गत साँचे खोला ‘बी’ निर्माण भएको हो । तर प्राविधिक, निर्माण कम्पनी र तालुकदार निकायको समन्वयको अभावमा उक्त उपयोजनाको ट्रान्समिसन लाइनको केही भाग मुहानभन्दा माथि निर्माण भएपछि सम्पन्न भएको योजना लथालिङ्ग बनेको छ । जसकारण यहाँका एक हजारभन्दा बढी उपभोक्ताले मार खेप्नु परेको स्थानीयवासीको गुनासो छ । 
रवीन्द्र काफ्ले । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ