रमेश थापा
पाँचथर- पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ स्थित श्री सिद्ध सरस्वती आवि फाक्तेपमा अक्षयकोष स्थापना गरिएको छ। कुम्मायक–१ गौरीगाउँ निवासी स्व.टंकप्रसाद गर्तौलाको स्मृतिमा दुई लाख एक हजार रुपैयाँको अक्षयकोष स्थापना गरिएको हो। विधालयमा आयोजित एक कार्यक्रमका बीच गर्तौलाका छोराहरु दुर्गाप्रसाद, केशवराज र राजन गर्तौलाले दुई लाख एक हजारको अक्षयकोष स्थापना गरेका हुन। स्व.टंकप्रसाद गर्तौलाले विद्यालयमा ३५ वर्षसम्म निरन्तर शिक्षण पेसामा आवद्ध सकृय भएका थिए। विद्यालयको दिगो विकास र शैक्षिक क्षेत्रको वृद्धि र विकासमा महत्वपूर्ण योग्दान दिएको भन्दै परिवारले अक्षयकोष स्थापना गरेको विद्यालयकी प्रधानध्यापक भीम कुमारी सम्बाहाम्फेले बताइन् ।
२०१३ सालमा स्थापना भएको विद्यालयमा कक्षा १–५ सम्म संचालन भएको थियो। विद्यार्थी संख्या घटेसंगै २०७४ सालबाट ३ कक्षासम्म मात्रै पठनपाठन हुदै आएको छ। विद्यालयको अस्तित्व संरक्षण गर्दै शैक्षिक बातावरण वृद्धिको लागि विद्यालयमा अक्षयकोष स्थापना गरेको अक्षयकोषदाता दुर्गाप्रसाद गर्तौलाले बताए। विद्यालयमा तीन घण्टाको बाटो धाएर ३५ वर्षसम्म पठनपाठन गराएको भन्दै बुवाले बगाएको पसिनाको सम्मान गर्दै बालबालिकाको भविष्य उज्वल बनाउने उदेश्यले अक्षयकोष स्थापना गरिएको गर्तौलाको भनाइ छ।
विद्यालयमा स्थापना गरिएको अक्षयकोषको व्याजदरबाट आवश्यकता अनुसार बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गर्नु पर्नेछ। अक्षयकोषको बार्षिक ब्याजदरको ७५ प्रतिशत विद्यालयमा खर्च हुने र बाँकी २५ प्रतिशत कोषमा जम्मा गर्दै लगिने सम्झौतामा उल्लेख गरिएको छ। सोही कार्याक्रममा दुर्गाप्रसाद गर्तौला अध्यक्ष रहेको साना सहयोगी नेपालले २२ बालबालिकालाई स्कुल व्याग, पोषाक र शैक्षिक सामाग्री बितरण गरेको थियो। सँस्था स्थापना भएको ७ वर्षको अवधिमा ४८ वटा सामुदायिक विद्यालयमा सहयोग गरिसकेको गर्तौलाको भनाइ छ। कार्यक्रममा फाल्गुनन्द–५ का वडाअध्यक्ष बिष्णुकुमार चेम्जोङले कमजोर अवस्थाको सामुदायिक विद्यालयमा गरेको सहयोगले बालबालिकाको शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण भूमिका खेलेको भन्दै गर्तौला परिवारको प्रशंसा गरे। विद्यालयको शैक्षिक सुधारको लागि विद्यालय र अभिभावक निरन्तर लाग्न सुझाव दिदै उनले वडा कार्यालयले पनि वर्षेनी सहयोग गर्दै आएको समेत बताए ।

.png)