रमेश थापा
पाँचथर-पाँचथरको कुम्मायक गाउँपालिकामा संचालित तमोर पंम्पिङ खानेपानी योजना अवरुद्ध भएपछि गाउँपालिकाबाट जनप्रतिनिधि सहितको टोली खानेपानी मन्त्रालयमा पुगेको छ। बिहिवार गाउँपालिका अध्यक्ष वंम प्रसाद लावती सहितको टोलीले खानेपानी मन्त्रालयमा पुगेर योजनामा देखिएको समस्याबारे ध्यानाकषर्ण गराएको हो। खानेपानी मन्त्री महेन्द्रराय यादव र सचिव सुरेश आचार्यसंग तत्काल २० लाख मुल्यको पंम्प र प्यानल बोड उपलब्ध गराउँन माग गरेको गाउँपालिका अध्यक्ष लावतीले जनाए ।
जवाफमा मन्त्री यादवले तत्काल ठुलो बजेको व्यवस्थापन सम्भव नभएकाले पंम्प र प्यानलबोटको बिषयमा केही पहल गर्ने जवाफ दिएका थिए । तमोर किनारमा छुट्टै इनार निर्माण गर्न अर्को आर्थिक वर्षदेखि प्रकृया अघि बढाउने मन्त्री यादवको दाबी थियो । लुम्वुघाटको इनारमा जडान गरिएका दुई वटा पंम्प जलेपछि विकल्पको खोजी गर्दै अध्यक्ष लावती सहितको टोली मन्त्रालयमा पुगेको थियो । टोलिमा पूर्वमन्त्री तथा नेकपा एमालेका केन्द्रिय सदस्य डम्बरसिं सम्बाहाम्फे, प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारी, समाजसेवी दिलबहादुर लावती र पदम फेवादिन लगायतको टोलिले योजनाको विषयमा ध्यानाकर्षण जनाएको थियो |
तमोर नदिको धार परिवर्तन गर्दै गाउँपालिका
तमोर नदिले धार परिवर्तन गरेपछि इनारमा पानीको सतह घटेको थियो । जस्का कारण पंम्पले बालुवा र पानी एकै साथ तानेपछि पंम्प जलेको हो । गाउँपालिकाले नदिको धार परिर्वतन गर्न स्काभेटरको प्रयोग गरी काम गर्दै आएको छ । योजनाको इनार नजिक नदिको धार परिवर्तन गरी ल्याई पानी सिपेज गराउन पहल भईरहेको गाउँपालिका उपाध्यक्ष महेन्द्र बहादुर खड्काले बताए । तत्कालको लागि इनारमा पानीको सतह बढाउँन इनार भित्रको बालुवा फाल्ने र पंम्प जडान गरी पानी संचालन गर्न समिति र गाउँपालिका लागेको खड्काको भनाइ छ ।
शुक्रबारसम्ममा नदिको धार परिवर्तन गर्ने र इनार भित्रको बालुवा हटाएर गहिराइ बढाउने खानेपानी उपभोक्ता समितिका सचिव जकेन्द्र लावतीले बताए । ११ मिटर भित्रको बालुवा फाल्न उपकरण र प्राविधिक जनशक्ती खटाउने काम भइरहेको लावतीको भनाइ छ ।
.png)