रमेश थापा
पाँचथर: पाँचथरको फिदिम नगरपालिकामा रहेका दुई सामुदायिक विद्यालयका ६ जना विद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान गरिएको छ। स्वर्गीय मनु दुलाल प्रसाई स्मृति अक्षय कोषको रकमले फिदिमका दुई वटा विद्यालयमा अध्ययनरत ६ छात्र छात्रालाई छात्रवृत्ती प्रदान गरेको हो।
स्वर्गीय मनु दुलाल प्रसाई स्मृतिमा २ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको थियो। सो रकमको वार्षिक व्याजदरबाट जनसेवा समाज पाँचथरले फिदिम–११ घर भई फिदिम मा.वि.मा अध्ययनरत अप्सना जवेगू, नविना जवेगू, विरेन्दरु जवेगू, दिपेन्द्र जवेगू र राजेन्द्र जवेगूलाई ११ हजार ५ सय ९० रुपैयाँ वितरण गरेको छ । त्यस्तै फिदिम–१३ को सिद्वेश्वर मा.वि.मा अध्ययनरत बबिना नेम्वाङलाई ५ हजार ५ सय रुपैंया छात्रबृत्ती उपलव्ध गराएको जनसेवा समाज पाँचथर अध्यक्ष राजेन्द्र अधिकारीले बताए।
मनु टिम्बुरे हत्या काण्डमा मारिएका कुबेर दुलाल र सरस्वती दुलालकी छोरी हुन। मनुका पिता कुवेरको परिवारका ५ जनाको २०५० सालमा एकैसाथ हत्या गरिएको थियो। मनु भने घरमा नभएका कारण बाँच्न सफल भएकी थिइन। झापा निवासी नन्दीकेशर प्रसाई नरेश सँग विवाह वन्धनमा बाँधिएकी उनको २०७३ सालमा अमेरिकामा निधन भएको थियो।
उनको स्मृतिमा श्रीमान नन्दीकेशर (नरेश प्रसाइ) ले मनु स्मृति अक्षय कोष स्थापना गरेका हुन। मनुको निधन भएको दिन पार्दै कोषले प्रत्येक वर्षको साउन २९ गते छात्रबृत्ती वितरण गर्दै आएको छ। यो वर्षको छात्रबृत्ती वितरण कार्यक्रम फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेको प्रमूख आतिथ्यमा सम्पन्न भएको हो।
फिदिम नगरपालिकाका प्रमूख काफ्लेको प्रमूख आतिथ्यमा सम्पन्न छात्रवृत्ती वितरण कार्यक्रममा बिमला अधिकारीले मनुको जीवनी बारे संक्षीप्त चर्चा गरेकी थिइन। कार्यक्रममा उप मेयर राधाकृष्ण न्यौपाने र युवा समाजसेवी कमलराज नेम्वाङले मन्तव्य राखेका थिए।
कार्यक्रममा छात्रछात्रा उनिहरुका अभिावक, शिक्षक र सञ्चारकर्मीसँगै जनसेवा समाजका पदाधिकारी सहभागि थिए। जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मनु स्मृति अक्षय कोषका कोषाध्यक्ष गोपिकृष्ण अधिकारीले गरेका थिए।

.png)