लुम्बिनी, १७ चैत :
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले लुम्बिनी र बुद्धसँग जोडेर चलचित्र क्षेत्रको माध्यमबाट विकास र प्रवर्द्धन गर्ने कुरा सकारात्मक भएको बताउनुभएको छ ।
उहाँले ऐतिहासिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार र प्रवर्द्धन गर्ने कुरा सकारात्मक भए पनि यसप्रति उत्तिकै सजग र चनाखो हुनुपर्नेमा पनि जोड दिनुभयो । आजदेखि लुम्बिनीमा सुरु भएको तीन दिने ‘गौतम बुद्धको जीवनी र दर्शन सङ्गत रहेर जीवनीमा चलचित्र निर्माण अन्तर्राष्ट्रिय बजार तथा पर्यटन प्रवर्द्धन’ कार्यशालाको आज उद्घाटन गर्दै मन्त्री शर्माले नेपाली चलचित्र क्षेत्रको विकासका लागि हालको कानून पर्याप्त नरहेकाले नयाँ कानून निर्माणको आवश्यकता औँल्याउनुभयो ।
मन्त्री शर्माले
नेपाली फिल्म यतिबेला सन् २०२६ को ऐनले चलिरहेको भन्दै समयसापेक्ष नियम ल्याउन आफूले पहल गर्ने बताउनुभयो ।
चन्द्रसूर्य सिनेमाको आयोजना तथा रुपन्देही चलचित्र पत्रकार सङ्घको सहकार्यमा लुम्बिनीमा आयोजित कार्यशालाको उद्घाटन कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले पर्याप्त अधिकार नहुँदा नेपाली चलचित्रको क्षेत्रमा अपेक्षित प्रगति गर्न नसकेको बताउनुभयो ।
उहाँले नेपाली चलचित्र क्षेत्रको विकासका लागि हाल रहेका कानून निकै पुरानो रहेको उल्लेख गर्दै अब ती कानूनले सबै कुरालाई सम्बोधन गर्न नसक्ने बताउनुभयो । पूर्वमन्त्री तथा लुम्बिनी प्रदेशसभा सदस्य सन्तोष पाण्डेय, सिद्धार्थनगर नगरपालिकाका प्रमुख मोहम्मत इस्तियाक खाँलगायतले चलचित्र क्षेत्रको माध्यमबाट शान्ति भूमि गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई परिचित गराउने अभियानलाई कार्यशालाले टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । –––
.png)