Comments Add Comment

उपाधि विजेता खेलाडीलाई गाउँपालिकाद्वारा नगद सहित सम्मान

रमेश थापा
पाँचथर : पाँचथरको याङ्वरक गाउँपालिकाले उपाधि बिजेता खेलाडीलाई नगद रुपैयाँ सहित सम्मान गरेको छ। गाउँपालिकाको सामुदायिक हलमा आयोजित खेलाडी सम्मान कार्यक्रममा पालिकास्तरीय चौथो कुम्मायक गोल्डकप फुटवल प्रतियोगिताको बिजेता गाउँपालिकाका खेलाडीहरुलाई सम्मान गरेको हो। गाउँपालिकाले खेलाडीहरु, टिम प्रशिक्षक तथा ब्यवस्थापकलाई जनही रु. ५ हजार पुरस्कार सहित सम्मान गरेको हो। त्यस्तै प्रथम पुरस्कार बापतको १ लाख ११ हजार १११ रुपैयाँ नगद पनि पालिकाले खेलाडीलाई प्रदान गरेको थियो। 
विजेता खेलाडीहरुलाई गाउँपालिका अध्यक्ष भीमबहादुर योङ्या (सुवास), उपाध्यक्ष बाबा मेन्याङ्बो, प्रमुख प्रशासकीय अधिकृत सुमन लिङदेन लगायतले नगद सहित खादा र प्रशंसा पत्र प्रदान गरी सम्मान गरेका हुन। उपाधि बिजेता खेलाडीहरुलाई जनप्रतिनिधि, कर्मचारी र स्थानीयले साँस्कृतिक झाँकी सहित थर्पुमा स्वागत गरेका थिए। स्वागतपछि थर्पुस्थित सामुदायिक भवनमा खेलाडीहरु, टिम प्रशिक्षक तथा ब्यवस्थापकहरुलाई सम्मान गरिएको हो। 
प्रतियोगिताको आयोजक कुम्मायक स्पोर्टिङ क्लबले विजेता खेलाडीको टिमलाई याङवरक गाउँपालिकासम्म पु¥याएको थियो। खेलाडीहरुको सम्मानका लागि खेलाडीलाई गाउँपालिकाको केन्द्रसम्म पु¥याइएको आयोजक क्लबका अध्यक्ष रोहन घिमिरेले वताए।
अध्यक्ष घिमिरेले खेलाडी प्रोत्साहन स्वरुप गाउँपालिकाले सम्मान गरेको भन्दै खुशी ब्यक्त गरे। उनले खेलकुद क्षेत्रको विकासको क्षेत्रमा ध्यान दिन आग्रह समेत आग्रह गरे। सम्मानपछि खेलाडीहरुले आफ्नो क्षमता र प्रतिभावान खेलाडी विदेशिनु पर्ने, रोजगारीका लागि अन्यत्रै जानुपर्ने अवस्था अन्त्य गर्न र प्रशिक्षणको ब्यवस्था गर्न माग गरेका थिए। गाउँपालिका उपाध्यक्ष बाबा मेन्याङ्बोले पालिकास्तरको प्रतियोगिताको च्याम्पियन बनाएर याङवरकका खेलाडीले ठूलो योगदान दिएको वताइन्।
याङवरक गाउँपालिकाका अध्यक्ष भीमबहादुर योङ्या (सुवास)ले विगतमा आफू पनि खेलाडी भएको स्मरण गर्दै खेलाडीहरुका समस्या समाधानमा लागि पर्ने प्रतिवद्धता व्यक्त गरे। पालिकास्तरीय प्रतियोगिताको उपाधि जितेपछि याङवरकको भागमा धेरै जिम्मेवारी आइपरेको भन्दै उनले खेलकुदको प्रवर्द्धन गर्ने प्रभावकारी योजना र खाका तयार गर्न सरोकारवाला सबैलाई आग्रह गरे। उनले थपे “हामी अव वडा स्तरमा खेलकुदको विकास गर्न योजना अघि बढाउँछौ। बिगतमा भएका कमीकमजोरी सच्याउछौ । र अर्को पटकको उपाधि पनि जित्ने बाताबरण बनाउँछौ। यो बिषयमा वडाध्यक्षहरु र खेलाडी तयार भएर बस्न आग्रह गर्छु।”
उपाधि बिजेतासँगै याङवरकका जमिन लिम्बू प्रतियोगिताको उत्कृष्ट खेलाडी, सुमन योङ्या उत्कृष्ट फरवार्ड, पुुष्कर काम्बाङ फाइनल खेलको उत्कृष्ट खेलाडी, रविन बेघा उत्कृष्ट गोलकिपर र तुफान क्षेत्री उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए। प्रतियोगिता सम्पन्न गर्न याङवरक गाउँपालिकाले आयोजक कुम्मायक स्पोटिङ क्लवलाई नगद ५१ हजार सहयोग गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ