पाँचथर-बिहानै बजारमा एकाएक भीड बढ्यो । कोही झोलामा काजपत्र सुरक्षित राख्दै थिए, कोही जाने बुझेकालाई कागज देखाउँदै । क्रमश भीड बढ्दै थियो । केही परबाट बुढापाकाको एउटा समुह बजारमा पुग्यो । त्यही समुहमा थिइन् ठगीमायाँ खुलाल । पुरानो कागजपत्र प्लाष्टिकबाट झिक्दै भीड छिचोल्दै उहाँ मालपोत शिविर भएको स्थानमा पुग्नुभयो र क्रमश आफ्नो काम गर्नुभयो। धेरै वर्षपछि खुलालले कम खर्चमा गाउँमै नामसारी गर्न सफल हुनुभयो ।
कुम्मायक-२ आहालेका ६१ वर्षिय टेक बहादुर शेर्मामा पनि सोही स्थानमै भेटिनुभयो २०४३ साल चैत्र १२ गते उहाँको बुबा दलबहादुर शेर्माको मृत्यु भयो । बुबाको मृत्युपछि बुबाको नाममा रहेको जग्गा नामसारी गर्न उहाँलाई समस्या भयो । बुबाको मृत्यु भएको ३५ वर्षपछि गाउमै नामसारी गर्न सफल हुनुभएको छ । अब केही काम बाँकी छ । केही दिनपछि सदरमुकाम जान्छु । उहाँले भन्नुभयो् त्यो पनि एक घण्टामा काम हुन्छ । हर्सित मुद्रामा शेर्माले सुनाउनुभयो ।
जेष्ठ नागरिक र युवाहरुमा देखिएको यो खुसी पाँचथरको कुम्मायक गाउँपालिकाको व्यवस्थापनमा जिल्ला मालपोत कार्यालयले संचालन गरेको शिविरको हो । सात दिने मालपोतको घुम्ति शिविरले नागरिकलाई हर्सित बनाएको छ । जिल्ला मालपोत कार्यालयसम्म पुगेर सेवा लिन बढि खर्चिलो र झन्झटिलो हुने भन्दै लामो समयदेखी जग्गाको कारोवार गर्न स्थानीयले सास्ती भोग्दै आएका थिए । तर मालपोतको घुम्तिशिविर गाउँपालिकामा संचालन भएपछि २ हजार बढि स्थानीयले सेवा लिएका छन ।
गाउँपालिकावासीले शिविरमा ३ सय ८० नागरिकले प्रत्यक्ष लाभ लिएका छन् भने १६ सय ७५ नागरिकले परामर्श सहितको सेवा लिएका छन । शिविरमा अंशबण्डा २०, राजिनामा १ सय ३, नामसारी १ सय ४६ संसोधन ३६, फुकुवा १५ र प्रतिलिपि ६६ गरी २ हजारले सेवा लिएका थिए । मालपोत कार्यालय प्रति नागरिकले हेर्ने नजर फरक पार्न कार्यालयले सबै स्थानीय तहमा सेवा संचालन गर्दै आएको मालपोत अधिकृत बाबुराम पोखरेल ले बताउनुभयो ।
सात दिनसम्म संचालन भएको शिविरमा सेवाग्रहीको चाप बढेपछि कार्यालयले बिहान ७ देखि बेलुका ११ बजेसम्म सेवा प्रवाह गरेको थियो । शिविरबाट गाउँपालिकाले ४ लाख ५० हजारसम्म राजश्व संकलन गर्न सफल भएको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ बताउनुभयो । मालपोत कार्यालयसंग समन्वय गरी चाँडै जग्गाको कारोवार सम्बन्धि सामान्य सेवा गाउँपालिकाबाटै संचालन गर्ने लक्ष्य लिएको उहाँको भनाइ छ ।
गाउँपालिकामा हाल भु-सेवा संचालनमा छ । यसले पनि नागरिकलाई सहयोग गर्दै आएको छ । त्यसमा पनि गाउँपालिकाले आवश्यक समन्वय गरी नागरिकलाई मालपोतको सेवा दिन पाएको भन्दै कार्यालयले दिएको सेवाको प्रशंसा गर्नुभयो । नागरिकको सेवामा गाउँपालिकाले पहिलो प्राथमिकता दिएको छ । चेम्जोङले भन्नुभयो अब चाडै जग्गा कारोवार सम्बन्धी सामान्य काम कारवाही गाउँपालिकामै गर्ने व्यवस्थापन गर्दै छौ । यसका लागि गृहकार्यमा जुटेको उहाँको भनाइ छ ।
.png)