Comments Add Comment

उपमेयर रनिङ कपको उपाधि आठराई त्रिवेणीलाई

ताप्लेजुङ, २५ फागुन:

ताप्लेजुङमा बुधबार सम्पन्न उपमेयर रनिङ कप महिला फुटबल प्रतियोगिताको उपाधि आठराई त्रिवेणी गाउँपालिकाले हात पारेको छ। फाइनल खेलमा फुङ्लिङ नगरपालिकालाई २–१ को गोल अन्तरले पराजित गर्दै आठराई त्रिवेणीले उपाधि हात पारेको हो।

विजेता भएसँगै आठराई त्रिवेणी गाउँपालिकाले नगद रु एक लाख ११ हजारसहित तीन वर्षे रनिङ कप र प्रमाणपत्र प्राप्त गरेको छ। रनिङ कप एक सय तोला चाँदी र आधा तोला सुन जडित रहेको आयोजकले जनाएको छ।

यता उपविजेता बनेको फुङ्लिङ नगरपालिकाले भने रु ५५ हजार पाँच सय नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ। यस्तै प्रतियोगिताको स्थानमा रहेका सिरिजङ्घा र मेरिङ्देन गाउँपालिकाको टिमलाई नगद रु नौ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।

विजेता टिमलाई जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामा लगायतले संयुक्तरूपमा पुरस्कार वितरण गर्नुभयो। विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई समेत नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर फुङ्लिङ नगरपालिकाले आयोजना गरेको प्रतियोगिता यही फागुन २१ गतेदेखि सुरु भएको थियो।

प्रतियोगितामा जिल्लाको मैवाखोला गाउँपालिकाबाहेकका सबै स्थानीय तहबाट खेलाडी सहभागी भएका थिए। खेल क्षेत्रमा महिलाको उपस्थिति वृद्धि गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको फुङ्लिङ नगरपालिका उपप्रमुख भीमादेवी ओझाले बताउनुभयो। –––

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ