Comments Add Comment

पर्यटकीय गन्तव्य बन्दै बाग्मतीको भरत ताल

सर्लाही, ९ फागुन :

सर्लाहीको बाग्मती नगरपालिका–४ र १२ मा निर्माणाधिन भरत ताल पर्यटकीय गन्तव्य बनेको छ। यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ। हाल उक्त ताल निर्माणाधीन अवस्थामा छ।

मानवनिर्मित भरत ताल निर्माणका लागि हालसम्म करिब रु ९८ करोड खर्च भएको बाग्मती नगरपालिकाका नगरप्रमुख भरतकुमार थापाले जानकारी दिनुभयो । बहुउद्देश्यीय परियोजनालाई पूर्णता दिन अझै रु एक अर्ब लगानी गरिने र उक्त ताललाई बहुउद्देश्यीय परियोजनाका रूपमा विकास गर्ने योजना रहेको उहाँको भनाइ छ।

बहुउद्देश्यीय परियोजनाअन्तर्गत तालमा आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न अत्याधुनिक वनभोज स्थल, जङ्गल सफारी, शिव पार्वतीको मन्दिरसहितको सुमेरु पर्वत, फनपार्क, मिनी क्यासिनोसहितको होटल निर्माण भइरहेको बाग्मती–१२ का वडाध्यक्ष ओमबहादुर श्रेष्ठले जानकारी दिनुभयो। “भरत ताललाई बाग्मती नगरपालिकाको मुख्य आम्दानीको स्रोतका रूपमा अघि बढाउँदै छौँ, ताललाई मधेस प्रदेशकै ‘हब’ बनाउने योजना छ”, उहाँले भन्नुभयो।

नगरको बजेट, सङ्घ र प्रदेशबाट आएको अनुदानका साथै बजेट थपेर तालको काम पूरा गर्ने नगरप्रमुख थापाले बताउनुभयो । “तालको काम २० देखि २५ प्रतिशतसम्म मात्र भएको छ, तीन वर्षभित्र बहुउद्देश्यीय परियोजनाको सम्पूर्ण काम सक्ने रणनीति बनाएका छौँ”, उहाँले भन्नुभयो । तालमा माछा र हाँसपालन थालिएको छ। यसबाट आम्दानी बढाउन मद्दत पुग्ने नगरपालिकाले जनाएको छ ।

ताल रहेको एक सय २१ बिघामा बहुउद्देश्यीय परियोजना सञ्चालन गरिएको नगरपालिकाकी उपप्रमुख लीलाकुमारी मोक्तानले बताउनुभयो । “बाग्मती नदीको बगरलाई प्रयोग गरेका छौँ, यो नगरपालिकाभित्र र नगरकै विकास तथा समृद्धिका लागि प्रयोग गरिँदैछ”, उहाँले भन्नुभयो।

यहाँ विशेषगरी आन्तरिक र भारतीय पर्यटक आउने गरेका छन्। वार्षिक करिब ६० लाख पर्यटक आकर्षण गर्ने गरी संरचना निर्माण गरिरहेको नगरपालिकाले जनाएको छ। तालमा अहिले दैनिक पाँच सयजनाले रोजगारी पाएका छन्। तालमा अहिले साना ठूला गरेर करिब ४० डुङ्गा सञ्चालनमा छन्। 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ