Comments Add Comment

सुक्खाक्षेत्र कुम्मायकमा कर्मचारी प्रोत्साहानमा मात्रै ४५ लाख

कुमार खड्का

पाँचथर- पाँचथरको कुम्मायक गाउँपालिका, सरकारले घोषणा गरेको नेपालकै पहिलो सुक्खा क्षेत्र पालिका हो। यस गाउँपालिकामा एक आर्थिक बर्षमा करिब ५० लाख हाराहारी मात्र कर संकलन हुने गरेको छ । तर यस्तो सुक्खा क्षेत्र पालिकामा संकलन हुने राजस्व भन्दा धेरै कर्मचारीलाई प्रोत्साहान गर्नकै लागि ठुलो रकम विनियोजन गरेको पाईएको छ ।

पालिकामा २०७९/८० को वजेटमा कर्मचारी प्रोत्साहानमा ४५ लाख र कर्मचारी पुरस्कारमा करिव १० लाख छुट्टाछुट्टै शीर्षकमा ५५ लाख विनियोजन गरिएको छ । बर्खे र हिउँदे गाउँसभाले पारित गरेको वजेट, रातो कितावमा समेत समाबेश गरिएको छ। यस अघि आर्थिक बर्ष २०७८/०७९ को वजेटमा कर्मचारी प्रोत्साहन तथा पुरस्कारमा एकमुस्ट १० लाख मात्र विनियोजन गरिएको थियो। पालिकामा बित्तिय बोझ पनि उतिकै छ । आफै भाडाको घरमा बस्दै आएको पलिकाले आवास सुविधा सहित बार्षिक १८ लाख तिर्दै आएको छ ।

पालिकामा घर बहाल कर, सम्पति, व्यावसाय, भुमिकर (मालपोत), सेवा शुल्क दस्तुर शीर्षक  र नदिजन्य पदार्थको बिक्रि वितरणमा मात्र कर संकलन हुने गरेको छ। यस गाउँपालिकामा आर्थिक बर्ष २०७८/०७९ मा लक्ष्य ७७ लाख रहेकोमा आर्थिक बर्षको अन्त्यमा ५२ लाख २५ हजार ४ सय ६० रुपैँया ७४ पैसा कर संकलन भएको थियो । पालिकाले २०७९/०८० मा ५० लाख मात्र कर संकलन गर्ने लक्ष्य लिएको छ । यसैगरी आर्थिक बर्ष २०७४/०७५ मा १२ लाख ९५ हजार राजस्व संकलन भएको थियो । आर्थिक बर्ष २०७५/०७६ मा ३४ लाख ४६ हजार, २०७६/०७७ मा ५४ लाख ११ हजार १ सय ३ रुपैँया कर संकलन भएको थियो । यसैगरी २०७७/०७८ मा पालिकामा ६३ लाख १५ हजार ५ सय ८ रुपैँया राजस्व संकलन भएको थियो ।

आ.व. २०७९।०८० मा कर्मचारी प्रोत्साहान गर्नका लागि छुट्याईएको ४५ लाख रकम सबै खर्च नहुने र  गाउँपालिकामा दोहोरो जिम्मेवारी वहन गर्ने कर्मचारीको प्रोत्साहनका  लागि मात्र सो रकम खर्च हुने गाउँपालिका अध्यक्ष बम प्रसाद लावतिले जनाए ।

तर १ नं. वडा अध्यक्ष देवेन्द्र कुमार लावतीले भने छुट्याईएको रकम प्रति खरो विरोध गरेका छन् । लावतीले भने कर्मचारी प्रोत्साहनका लागि यति धेरै रकम दिन सक्ने गरिको सुविधासम्पन्न हाम्रो गाउँपालिका अहिले नभएकोले सो रकम कटौति गरी अन्य विकास निर्माणका कार्यक्रममा लगाउनुपर्ने बताएकाछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ